कस्तो लेख्ने भन्ने बहस त निकै भएका छन् तर कस्तो पढ्ने भन्ने बहस कमै मात्रामा भएको छ । कस्तो पढ्ने ? किन पढ्ने ? भन्ने विषय एकप्रकारले भन्दा वैयक्तिक धारणा हो तर साहित्यिक बजारमा छरिएका के सबै कृति पढ्न लायक छन् भन्ने विषय अर्को पाटो हो ।
पढ्नका निम्ति निश्चित मानक, क्षेत्र र विषय सबै पाठकले छुट्याएकै हुन्छन् । कसैलाई कविताले छुन्छ, कसैलाई उपन्यास र कसैलाई जीवनी र निबन्धले । तर यि विधा छान्ने आधार के ?
प्राय: पाठक सबै विधा पढ्न रुचाउँछन्, सबै विधा पढ्नु राम्रो हो । म पनि पढ्छु तर ति विधा मध्ये एउटा विधा पाठकले चुनिदिएर त्यस विधाका कमीकमजोरी र सामार्थ्य औंलाइदिए कति राम्रो सुनिन्थ्यो । कतिपय पाठक अलमलमा हुन्छन् आफ्नो रूचिको विषय कोही समीक्षकको रूची, पत्रिकाको 'मनपर्ने १० वा २० चिज' मा आधारित हुन्छ । फलानोलाई यो मनपर्छ त्यसैले मलाइ पनि त्यहि मनपर्छ ।
यसको मतलब यो होइन कि पाठकले आफ्नो रूचीको विषय आफ्ना अग्रजबाट प्रेरित भएर लिउन् तर पाठक आफैंले निश्चित विधामा आफुलाई मोडिफाइ गरे राम्रो हुन्थ्यो । कविताकै कुरा गर्दा कविता विधा भित्र पनि थुप्रै उपविधाहरू छन्-- कोहीलाई गद्य कविता मनपर्ला, कोहीलाई पद्य मनपर्ला । उपन्यास भित्र पनि कसैलाई सस्पेन्स मनपर्ला, कोहीलाई इतिहासमा आधारित, कोहीलाई प्रेममा आधारित वा कोहीलाई रियालिस्टिक र एक्सपेरिमेन्टल ।
एकैचोटी सबै विधामा हात हाल्नुभन्दा पालापालो सबै विधामा परख गरेर पढे गज्जब हुने थियो । भनिन्छ 'थोरै ज्ञान साह्रै खतरनाक हुन्छ' सबै विधाबाट केही ज्ञान हासिल भएपनि त्यो ज्ञान फोस्रो हुन्छ ।
यसो भनिरहँदा पाठकको भूमिका साँघुरिन्छ भन्ने डर पनि रहन्छ होला तर यसो भएमा पाठकमा थप निखारपन आउँछ होला । केही पाठक कविताको शक्ति परिक्षणमा लागेका, केही पाठक उपन्यासको तागत जाँचिरहेका अनि केही पाठक जीवनी र निबन्धको सामार्थ्य परीक्षण गरिरहेका-- यस्तो परिदृश्य नेपाली साहित्यको लागी कति लाभदायक हुने थियो होला ?
यसो भएमा कोही लेखकले कोही पाठक र साहित्यिक क्षेत्रलाई ठग्ने मौका पाउने थिएनन् । आज कविता बुझ्ने पाठकले भोलि उपन्यास बुझ्ने र कविता बुझाउने । अनि आज उपन्यास, जीवनी र निबन्ध बुझ्ने पाठहरूले भोलि कविता बुझ्ने अन्य विधा बुझाउने । वाह ! यसो सोचिरहँदा पनि मज्जा लाग्छ । तर नेपालमा यस्ता विशेषज्ञ पाठकको कमि देख्छु ।
म यस्तै पाठक बन्ने कोशिष गर्दै छु । के तपाइँ पनि विशेषज्ञ पाठक बन्ने कोशिषमा हुनुहुन्छ र ?