Search This Blog

Tuesday, August 11, 2015

'भगवान' एक कविता ।

अचानक खानामा कुनै अमिल्दो कङ्कड
मोजा भित्र बिझ्ने तिखो किला
लुलो र कमजोर लाग्यो
पहाड चढ्दा दिने तिम्रो दह्रो हात ।

इज्जत छोप्ने कपडाको गल्ती
चारैतर्फ गल्तीको भयाभय
के यि सबै भनिएका शक्तिशाली
उही भगवानको देन
र आखिरी अन्त्यमा मृत्यु संग मिल्छ ।

ए ! उहाँले भन्नुभो,
"जब तिमी पारिवारिक झमेलाबाट हट्छौ
म त्यहीं तिमी नजिक हुनेछु
तिमी संगै नजिक एकदमै समिप
विश्वास गर मलाइ-- मेरो साथी"

जब तिमीले सम्झाउँछौं-- उहाँले भन्नुहुन्छ:
"मलाइ माफ गर, मैले पिएको थिएँ--
तर तिम्रो नाम मेरो मस्तिष्कमा घुमेको छ
तिमीलाई कल्पना होला--
म छैन भन्ने कुरा र मेरो अस्तिव्व"

"न म कुनै सृजनामा थिएँ,
न कुनै विपत्तिमा,
र न कुनै उन्मुक्तिमा
न कुनैलाइ मैले पीडाबाट पार लगाएँ--

वा कुनै तथ्य जुन म संग सम्बन्धित
म कुनै अस्तित्ववादलाइ प्रेम गर्छु,
र तिमी कुनै किराको भोजन हौ"

"तिमी नै  हौ अमिल्दो कङ्कड
तिमी नै हौ मोजा भित्र बिझ्ने तिखो किला
तिम्रो नै लुलो र कमजोर लाग्यो
पहाड चढ्दा दिने दह्रो हात ।

"तिमी इज्जत छोप्ने कपडामा भएको गल्ती
तिमी नै हौ चारैतर्फ गल्तीको भयाभय
तिमीले भनिएका सबै शक्तिशाली
उही भगवानको देन हो
जुन कुरा अन्त्यमा मृत्यु संग मिल्छ ।"

Translated From Poem 'God, A Poem' by James Fenton.

Wednesday, August 5, 2015

प्रश्न गरिनँ । [कविता]

उहिल्यै बाजेको पाला देखि घिस्रिदैं
लड्दै र चढ्दै आयो प्रजातन्त्र तर
मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा,
र पो भोग्दैछु गरिबी र बेरोजगारी ।

देशको भूगोल र नक्सामा
किरिङमिरिङ सिमाना
सिमानामा नौलो झण्डा
झण्डा प्रति प्रश्न गरिनँ,
र पो कोर्दैछु सिमानाको चपेटा र पीडा ।

तल्लो घरको दलितले इनार छुँदा
समाजले गरेको विद्रोह
म समाजको पात्र भएर पनि
विद्रोहको कारण प्रति प्रश्न गरिनँ,
र पो देख्दैछु छुवाछुतको हुरी ।

उत्तरआधुनिवादमा पाइला चाल्दा
परम्पराको जुत्ता लगाएर
मैले मूर्ति पूजा गरें
तर मूर्ति प्रति प्रश्न गरिनँ,
र पो सुन्दैछु मान्छे मूर्ति भएको ।

साँचो प्रेमको कथा मात्रै आजकल
कथामा भित्र छल छ
प्रेमको मूल्य सस्तो भयो
सस्तो प्रति प्रश्न गरिनँ,
र पो थुन्दैछु प्रेमलाइ आफ्नै मुटु भित्र ।

नातावादले नछोएको म
'वाद' नमन्दा भएको वादविवाद
वादविवाद होइन विवाद हुँदा
मैले 'वाद' लाइ प्रश्न गरिनँ,
र पो चुन्दैछु कुनै झण्डाको ओशिलो छायाँ ।