Search This Blog

Friday, May 20, 2016

तपाइँ कस्तो पाठक ?

कस्तो लेख्ने भन्ने बहस त निकै भएका छन् तर कस्तो पढ्ने भन्ने बहस कमै मात्रामा भएको छ । कस्तो पढ्ने ? किन पढ्ने ? भन्ने विषय एकप्रकारले भन्दा वैयक्तिक धारणा हो तर साहित्यिक बजारमा छरिएका के सबै कृति पढ्न लायक छन् भन्ने विषय अर्को पाटो हो ।

पढ्नका निम्ति निश्चित मानक, क्षेत्र र विषय सबै पाठकले छुट्याएकै हुन्छन् । कसैलाई कविताले छुन्छ, कसैलाई उपन्यास र कसैलाई जीवनी र निबन्धले । तर यि विधा छान्ने आधार के ?

प्राय: पाठक सबै विधा पढ्न रुचाउँछन्, सबै विधा पढ्नु राम्रो हो । म पनि पढ्छु तर ति विधा मध्ये एउटा विधा पाठकले चुनिदिएर त्यस विधाका कमीकमजोरी र सामार्थ्य औंलाइदिए कति राम्रो सुनिन्थ्यो । कतिपय पाठक अलमलमा हुन्छन् आफ्नो रूचिको विषय कोही समीक्षकको रूची, पत्रिकाको 'मनपर्ने १० वा २० चिज' मा आधारित हुन्छ । फलानोलाई यो मनपर्छ त्यसैले मलाइ पनि त्यहि मनपर्छ ।

यसको मतलब यो होइन कि पाठकले आफ्नो रूचीको विषय आफ्ना अग्रजबाट प्रेरित भएर लिउन् तर पाठक आफैंले निश्चित विधामा आफुलाई मोडिफाइ गरे राम्रो हुन्थ्यो । कविताकै कुरा गर्दा कविता विधा भित्र पनि थुप्रै उपविधाहरू छन्-- कोहीलाई गद्य कविता मनपर्ला, कोहीलाई पद्य मनपर्ला । उपन्यास भित्र पनि कसैलाई सस्पेन्स मनपर्ला, कोहीलाई इतिहासमा आधारित, कोहीलाई प्रेममा आधारित वा कोहीलाई रियालिस्टिक र एक्सपेरिमेन्टल ।

एकैचोटी सबै विधामा हात हाल्नुभन्दा पालापालो सबै विधामा परख गरेर पढे गज्जब हुने थियो । भनिन्छ 'थोरै ज्ञान साह्रै खतरनाक हुन्छ' सबै विधाबाट केही ज्ञान हासिल भएपनि त्यो ज्ञान फोस्रो हुन्छ ।

यसो भनिरहँदा पाठकको भूमिका साँघुरिन्छ भन्ने डर पनि रहन्छ होला तर यसो भएमा पाठकमा थप निखारपन आउँछ होला । केही पाठक कविताको शक्ति परिक्षणमा लागेका, केही पाठक उपन्यासको तागत जाँचिरहेका अनि केही पाठक जीवनी र निबन्धको सामार्थ्य परीक्षण गरिरहेका-- यस्तो परिदृश्य नेपाली साहित्यको लागी कति लाभदायक हुने थियो होला ?

यसो भएमा कोही लेखकले कोही पाठक र साहित्यिक क्षेत्रलाई ठग्ने मौका पाउने थिएनन् । आज कविता बुझ्ने पाठकले भोलि उपन्यास बुझ्ने र कविता बुझाउने । अनि आज उपन्यास, जीवनी र निबन्ध बुझ्ने पाठहरूले भोलि कविता बुझ्ने अन्य विधा बुझाउने । वाह ! यसो सोचिरहँदा पनि मज्जा लाग्छ । तर नेपालमा यस्ता विशेषज्ञ पाठकको कमि देख्छु ।

म यस्तै पाठक बन्ने कोशिष गर्दै छु । के तपाइँ पनि विशेषज्ञ पाठक बन्ने कोशिषमा हुनुहुन्छ र ?

Saturday, May 14, 2016

लेखक कि कार्यकर्ता ?

कुनै पनि पाठकले लेखकलाई आफ्नो आइडियल मानेका हुन्छन् । देश, समाजमा भएगरेका घटनालाई अक्षरका माध्यमबाट समाजलाई प्रस्तुत गर्नु लेखकको धर्म हो । यस्तो धर्म जुन कुनै सिद्दान्तको नोकर वा भक्त बन्नु हुन्न तर दुर्भाय ।

राजनितिले नछोएको र नगाँजेको कुनै ठाउँ नहोला सायद । राजनिति र वेश्यावृति पुरानै पेशा भित्र पर्छ पनि । देशका कलाकार, शिक्षक, डाक्टर, विद्यार्थी, लेखक, पत्रकार राजनितिमा कुनै न कुनै रूपले सम्बन्धित नै हुन्छन् । यदि कसैले म राजनितिमा छैन भन्छ भने त्यो मान्छे सामाजिक छैन भन्ने बुझिन्छ । समाजकै एकपाटो हो राजनिति । राजनितीको सिद्दान्तले निमुखाको उद्दारको नारालाई आफ्नो फाइदाको बाटो बनाएको उदाहरण हाम्रो समाजमा छँदै छ । यस्ता निमुखाको सिद्दान्तलाई पुर्नलेखन गर्न 'प्रगतिशिल र प्रजातान्त्रिक' लेखकहरूको जरुरी छ भन्ने लाग्छ । तर यस्ता लेखकहरूको बहसको विषय र वैचारिक छलफलमा पार्टीको गन्ध ह्वास्सै आउँछ । यस्ता बिनातुकको प्रगतिशिल र प्रजातान्त्रिक बहस हाम्रो लागी रद्दीको बराबर छ ।

भनिएका प्रगतिशिल लेखकका लेखहरूमा पहिल्यै द्दन्द कालमा क्रान्तिकारीले बाँडेका प्रचामा हुने जस्तै शब्द चयन र भनिएका प्रजातान्त्रिक लेखकका लेखहरूमा पहिल्यै चुनावमा बाँड्ने समाजवादी धारणाका शब्द चयन कत्ति रूखो र फुस्रो देखिन्छ । मानौं ति लेखक होइनन् कुनै पार्टीको मुख्य प्रवत्ता भाषण ठोकिरहेछ ।

पार्टीका अवधारणा र झण्डा बोकेर कोही प्रगतिशिल र कोही प्रजातान्त्रिक हुँदैनन् । अझ देशका गहना भनिएका र देशलाई विश्व सामु चिनाउने लेखकहरू स्वयमं आफू आबद्द संगठनको भजन गाउँदै एकअर्कालाई 'बहस' को नाममा आरोप प्रत्यारोप लगाउएको देख्दा  तिनीहरू लेखक कम कुनै पार्टीको कार्यकर्ता जस्तो लाग्यो ।

मार्कसवादी र समाजवादी लेखकहरूले राष्ट्रका मिहिन तहमा रहेका जनतालाई राष्ट्रको मूलधारमा ल्याउने चेष्टा गर्छ, धनी गरीबको खाडल पुर्न खोज्दै साहित्य र वैचारिक बहस काठमाडौंका चारतारे होटलमा गर्दै गाउँको समस्यालाई भाषण र पत्रिकाको सानो कोलममा पेलिदिन्छ अनि आफूलाई प्रगतिशिल प्रजातान्त्रिक लेखक र यसका संगठनको झुझारू यूवा ठान्छ ।

साहित्यको राजनितिकरणले देशको लेखकको साङ्गठनिक संघलाई यस्तरी गाँजेको रै'छ कि मानौं यि संगठनहरू कुनै पार्टीको भातृसंगठन हुन् । यस्ता लेखक र यस्ता संगठनले अब कुनै दिन पार्टीको लागी गाउँ-गाउँ भोट माग्दै हिड्न बेर पनि छैन ।

Thursday, May 5, 2016

आमा र याद ।

आमा तिमीलाई सम्झन कुनै बाहना
अनि कुनै परिस्थिति कुर्नु पर्दैन
तर जब जब यस्ता चिजहरू देख्छु र भेट्छु
तिम्रो याद साविकको भन्दा दोब्बर
अनि तेब्बर भएर आउँछ ।

जब देख्छु, कतै कुनै सानो बालक
आमाको काखमा बसेर संसार देखेको
र रोएको केही हराए जसरी
केही नहराउने आफ्नै आमाको काखबाट ।

जब देख्छु साना र कलिला हात संगै
टाँसिएको, जोडिएको
परिपक्व हात
म सम्झन्छु आमाको न्यायो स्पर्श
जहाँ म फूल, धूप र सिम्रिकको सुवास
अझै नजिकैबाट महसुस गर्न सक्छु
र फेर्न सक्छु सकुनको सास ।

जब देख्छु रूदैं र थाक्दै गरेको बालक
अनि केही सम्झदै फेरी रोएको बालापन
सम्झन्छु आफ्नै रूवाई र पिटाइ
जुन पिटाइ ममताको बापत थियो
त्यही पिटाई र रूवाई सम्झदां
ओठको क्षेत्रफलमा हाँसो फैलन्छ ।

ट्रिगर गर्छन् यस्ता सम्झना र याद
तर साना छैनन् ति प्रेममय याद
जुन यादले मुटुको आयतन बढाउँछ
र बढाउँछ घनत्व धड्कनको ।

यस्ता यादको सङ्कथन र अभिलेख
यादको ढुकुटीमा कति छन् कति
जसभित्र रहेर मेरो मन र मुटुले
तिम्रै यादको छलफल गर्छ ।

Saturday, December 19, 2015

देख्छु देख्दिनँ ।

यसपाली मात्रै लडेको धरहरा
मेरो सपनामा आएर ठिङ्ग उभियो
जुन धरहराको टुप्पोमा बसेर एउटा कवि
शहरको कविता कोर्दै थियो ।

मेरो सपना 'जुम' भएर विस्तारै
कविको कवितामा ठोक्कियो
अनि त्यो कविता यसप्रकार थियो ।

सगरमाथा माथि बसेर कविता लेख्ने धोको
सगरमाथाबाट शहर नदेखिने बोध भएपछि
मैले धरहरा छनौट गरें र लेख्दै छु कविता ।

म देख्दैछु, गगन चुम्मी भवन र झिलिमिली
लम्पसार सुतेको कालो सडक
जसमा काला र गोरा दुवै प्राणी
कालो र गोरो कर्म गर्न कुदिंरहेका छन् ।

म देख्छु, फिल्मी दुनियाँ
जहाँ संसार मैले देखेको भन्दा भिन्न छ,
जसभित्र मात्र सुखद अन्तय र संगीत छ
अनि कलम रोकिन्छ एकछिन;
धरहराबाट देखिंदैन भोको पेट
देखिदैंन आमाको रोदन
सुनिदैंन नमिठो संगित
मात्र देखिन्छ भोग र विलास ।

कविताबाट मेरो सपना 'जुम आउट' भएर
कविको अनुहारमा अडिन्छ
म देख्छु कविको भावाभङ्गी
उ निराश छ,
दाहिने हात देब्रे पट्टीको खप्परमा राखेर
फेरी देब्रे हातले कलम समाउँदै
फेरी सुरू गर्छ उसको कविता ।

देख्छु, आन्दोलनको आवाम जसभित्रको
क्रान्तिकारी उद्घोष,
तर देख्दिन, आन्दोलनको विद्रोह
थप देख्छु, उधोगबाट बगेको धूवाँ र
फालिएका फोहोरको सगरमाथा
जुन सगरमाथामा बसेर काग कराउँछ,
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
कि कसो सरकार ?

तर देख्दिनँ, उधोगकै छेउको छाप्रो
जहाँ गरिबको पेटबाट भोकको धूवाँ बग्छ
र थप देख्दिनँ बालकको रोदनँ
किनकी म शहरको संगितमा छु ।

देख्छु, शहरका गल्लीमा देहव्यापार
तर देख्दिनँ देशको व्यापार
किनकी ति व्यापारी कालो गाडीमा
कालो सिसा लगाएर हिड्छन्
र गर्छन् कालो खेति ।

थुप्रै बाहिरी कुरा देख्छु, खेस्रा कुरा
देख्दिन खस्रा कुरा जुन सत्य हुन्
तर देख्छु केवल कस्मेटिक सहर ।

कविको कलम रोकियो, धरहरा हल्लियो
मेरो सपना हल्लियो,
म बियूंझिए,
र हेरें धरहराको अस्तित्व
अब कसरी लेख्छन् कविले कविता ??

Sunday, December 6, 2015

डर [कविता]

डर !
हो डर छ म भित्र
सायद तपाइँ भित्र पनि निहित छ
मेरो मात्रै एकलौटी सम्पति पो कहाँ हो र !

डरको सिलसिला बालापन देखि
अहिले ठिटो हुँदा
अनि विस्तारै वृद्दावस्था,
बालापनमा ठूलो हुन्न कि भन्ने डर
खेलौना हराउने र साथी छुट्ने डर
कागजको प्लेन च्यातिने डर
यस्तै डरै-डरले बित्यो बालापन ।

अनि भयो सूर्यास्त बालापनको
र सूर्योदय यूवास्थाको
तर भएन डरको सूर्यास्त
अनि डरको फेरी अर्को सिलसिला ।

यूवास्था पछि वृद्द हुने डर
विभिन्न परीक्षा र इच्छाको डर
कागजको प्लेन त च्यातियो हेर्नुस्;
अब साँच्चैको प्लेनमा उड्ने डर
पढुन्जेल पढाइकै डर
सकिएपछि जागिर र पैसाको डर
अनि जब देख्छु,
आमाको आँखामा मेरो लागि सपना
त्यही सपना पुरा नहुने डर ।

भन्छन्, डर र भर नभएको काम लाग्दैन
हो म भित्र डर छ
जुन डरले मलाइ कहिलेकाँही
जङ्गली व्यवहार गर्दै चिथोर्छ
लछार्छ अनि पछार्छ
वा भनौं इट ट्रिट मि एज इफ
इट इज वाइल्ड यानिमल
जो संग म हरदम डराउँछु
अनि बन्छु कायर जीन्दगीको बाटोमा ।

अचानक एउटा कहावत याद आयो,
कहेतें हैे कि जो डर गया वो मरगया
तर म हार्दिन कहिल्यै
डर संग डराएर दिनहुँ मर्नुभन्दा
डरलाइ मारेर जिउँछु म
एस् आइ विल किल द्याट डर
अनि बाँच्छु बिन्दास जिन्दगी
मेरो इच्छामा नकी परको इच्छामा ।

Tuesday, August 11, 2015

'भगवान' एक कविता ।

अचानक खानामा कुनै अमिल्दो कङ्कड
मोजा भित्र बिझ्ने तिखो किला
लुलो र कमजोर लाग्यो
पहाड चढ्दा दिने तिम्रो दह्रो हात ।

इज्जत छोप्ने कपडाको गल्ती
चारैतर्फ गल्तीको भयाभय
के यि सबै भनिएका शक्तिशाली
उही भगवानको देन
र आखिरी अन्त्यमा मृत्यु संग मिल्छ ।

ए ! उहाँले भन्नुभो,
"जब तिमी पारिवारिक झमेलाबाट हट्छौ
म त्यहीं तिमी नजिक हुनेछु
तिमी संगै नजिक एकदमै समिप
विश्वास गर मलाइ-- मेरो साथी"

जब तिमीले सम्झाउँछौं-- उहाँले भन्नुहुन्छ:
"मलाइ माफ गर, मैले पिएको थिएँ--
तर तिम्रो नाम मेरो मस्तिष्कमा घुमेको छ
तिमीलाई कल्पना होला--
म छैन भन्ने कुरा र मेरो अस्तिव्व"

"न म कुनै सृजनामा थिएँ,
न कुनै विपत्तिमा,
र न कुनै उन्मुक्तिमा
न कुनैलाइ मैले पीडाबाट पार लगाएँ--

वा कुनै तथ्य जुन म संग सम्बन्धित
म कुनै अस्तित्ववादलाइ प्रेम गर्छु,
र तिमी कुनै किराको भोजन हौ"

"तिमी नै  हौ अमिल्दो कङ्कड
तिमी नै हौ मोजा भित्र बिझ्ने तिखो किला
तिम्रो नै लुलो र कमजोर लाग्यो
पहाड चढ्दा दिने दह्रो हात ।

"तिमी इज्जत छोप्ने कपडामा भएको गल्ती
तिमी नै हौ चारैतर्फ गल्तीको भयाभय
तिमीले भनिएका सबै शक्तिशाली
उही भगवानको देन हो
जुन कुरा अन्त्यमा मृत्यु संग मिल्छ ।"

Translated From Poem 'God, A Poem' by James Fenton.

Wednesday, August 5, 2015

प्रश्न गरिनँ । [कविता]

उहिल्यै बाजेको पाला देखि घिस्रिदैं
लड्दै र चढ्दै आयो प्रजातन्त्र तर
मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा,
र पो भोग्दैछु गरिबी र बेरोजगारी ।

देशको भूगोल र नक्सामा
किरिङमिरिङ सिमाना
सिमानामा नौलो झण्डा
झण्डा प्रति प्रश्न गरिनँ,
र पो कोर्दैछु सिमानाको चपेटा र पीडा ।

तल्लो घरको दलितले इनार छुँदा
समाजले गरेको विद्रोह
म समाजको पात्र भएर पनि
विद्रोहको कारण प्रति प्रश्न गरिनँ,
र पो देख्दैछु छुवाछुतको हुरी ।

उत्तरआधुनिवादमा पाइला चाल्दा
परम्पराको जुत्ता लगाएर
मैले मूर्ति पूजा गरें
तर मूर्ति प्रति प्रश्न गरिनँ,
र पो सुन्दैछु मान्छे मूर्ति भएको ।

साँचो प्रेमको कथा मात्रै आजकल
कथामा भित्र छल छ
प्रेमको मूल्य सस्तो भयो
सस्तो प्रति प्रश्न गरिनँ,
र पो थुन्दैछु प्रेमलाइ आफ्नै मुटु भित्र ।

नातावादले नछोएको म
'वाद' नमन्दा भएको वादविवाद
वादविवाद होइन विवाद हुँदा
मैले 'वाद' लाइ प्रश्न गरिनँ,
र पो चुन्दैछु कुनै झण्डाको ओशिलो छायाँ ।