आमा तिमीलाई सम्झन कुनै बाहना
अनि कुनै परिस्थिति कुर्नु पर्दैन
तर जब जब यस्ता चिजहरू देख्छु र भेट्छु
तिम्रो याद साविकको भन्दा दोब्बर
अनि तेब्बर भएर आउँछ ।
जब देख्छु, कतै कुनै सानो बालक
आमाको काखमा बसेर संसार देखेको
र रोएको केही हराए जसरी
केही नहराउने आफ्नै आमाको काखबाट ।
जब देख्छु साना र कलिला हात संगै
टाँसिएको, जोडिएको
परिपक्व हात
म सम्झन्छु आमाको न्यायो स्पर्श
जहाँ म फूल, धूप र सिम्रिकको सुवास
अझै नजिकैबाट महसुस गर्न सक्छु
र फेर्न सक्छु सकुनको सास ।
जब देख्छु रूदैं र थाक्दै गरेको बालक
अनि केही सम्झदै फेरी रोएको बालापन
सम्झन्छु आफ्नै रूवाई र पिटाइ
जुन पिटाइ ममताको बापत थियो
त्यही पिटाई र रूवाई सम्झदां
ओठको क्षेत्रफलमा हाँसो फैलन्छ ।
ट्रिगर गर्छन् यस्ता सम्झना र याद
तर साना छैनन् ति प्रेममय याद
जुन यादले मुटुको आयतन बढाउँछ
र बढाउँछ घनत्व धड्कनको ।
यस्ता यादको सङ्कथन र अभिलेख
यादको ढुकुटीमा कति छन् कति
जसभित्र रहेर मेरो मन र मुटुले
तिम्रै यादको छलफल गर्छ ।
No comments:
Post a Comment