Search This Blog

Friday, May 20, 2016

तपाइँ कस्तो पाठक ?

कस्तो लेख्ने भन्ने बहस त निकै भएका छन् तर कस्तो पढ्ने भन्ने बहस कमै मात्रामा भएको छ । कस्तो पढ्ने ? किन पढ्ने ? भन्ने विषय एकप्रकारले भन्दा वैयक्तिक धारणा हो तर साहित्यिक बजारमा छरिएका के सबै कृति पढ्न लायक छन् भन्ने विषय अर्को पाटो हो ।

पढ्नका निम्ति निश्चित मानक, क्षेत्र र विषय सबै पाठकले छुट्याएकै हुन्छन् । कसैलाई कविताले छुन्छ, कसैलाई उपन्यास र कसैलाई जीवनी र निबन्धले । तर यि विधा छान्ने आधार के ?

प्राय: पाठक सबै विधा पढ्न रुचाउँछन्, सबै विधा पढ्नु राम्रो हो । म पनि पढ्छु तर ति विधा मध्ये एउटा विधा पाठकले चुनिदिएर त्यस विधाका कमीकमजोरी र सामार्थ्य औंलाइदिए कति राम्रो सुनिन्थ्यो । कतिपय पाठक अलमलमा हुन्छन् आफ्नो रूचिको विषय कोही समीक्षकको रूची, पत्रिकाको 'मनपर्ने १० वा २० चिज' मा आधारित हुन्छ । फलानोलाई यो मनपर्छ त्यसैले मलाइ पनि त्यहि मनपर्छ ।

यसको मतलब यो होइन कि पाठकले आफ्नो रूचीको विषय आफ्ना अग्रजबाट प्रेरित भएर लिउन् तर पाठक आफैंले निश्चित विधामा आफुलाई मोडिफाइ गरे राम्रो हुन्थ्यो । कविताकै कुरा गर्दा कविता विधा भित्र पनि थुप्रै उपविधाहरू छन्-- कोहीलाई गद्य कविता मनपर्ला, कोहीलाई पद्य मनपर्ला । उपन्यास भित्र पनि कसैलाई सस्पेन्स मनपर्ला, कोहीलाई इतिहासमा आधारित, कोहीलाई प्रेममा आधारित वा कोहीलाई रियालिस्टिक र एक्सपेरिमेन्टल ।

एकैचोटी सबै विधामा हात हाल्नुभन्दा पालापालो सबै विधामा परख गरेर पढे गज्जब हुने थियो । भनिन्छ 'थोरै ज्ञान साह्रै खतरनाक हुन्छ' सबै विधाबाट केही ज्ञान हासिल भएपनि त्यो ज्ञान फोस्रो हुन्छ ।

यसो भनिरहँदा पाठकको भूमिका साँघुरिन्छ भन्ने डर पनि रहन्छ होला तर यसो भएमा पाठकमा थप निखारपन आउँछ होला । केही पाठक कविताको शक्ति परिक्षणमा लागेका, केही पाठक उपन्यासको तागत जाँचिरहेका अनि केही पाठक जीवनी र निबन्धको सामार्थ्य परीक्षण गरिरहेका-- यस्तो परिदृश्य नेपाली साहित्यको लागी कति लाभदायक हुने थियो होला ?

यसो भएमा कोही लेखकले कोही पाठक र साहित्यिक क्षेत्रलाई ठग्ने मौका पाउने थिएनन् । आज कविता बुझ्ने पाठकले भोलि उपन्यास बुझ्ने र कविता बुझाउने । अनि आज उपन्यास, जीवनी र निबन्ध बुझ्ने पाठहरूले भोलि कविता बुझ्ने अन्य विधा बुझाउने । वाह ! यसो सोचिरहँदा पनि मज्जा लाग्छ । तर नेपालमा यस्ता विशेषज्ञ पाठकको कमि देख्छु ।

म यस्तै पाठक बन्ने कोशिष गर्दै छु । के तपाइँ पनि विशेषज्ञ पाठक बन्ने कोशिषमा हुनुहुन्छ र ?

Saturday, May 14, 2016

लेखक कि कार्यकर्ता ?

कुनै पनि पाठकले लेखकलाई आफ्नो आइडियल मानेका हुन्छन् । देश, समाजमा भएगरेका घटनालाई अक्षरका माध्यमबाट समाजलाई प्रस्तुत गर्नु लेखकको धर्म हो । यस्तो धर्म जुन कुनै सिद्दान्तको नोकर वा भक्त बन्नु हुन्न तर दुर्भाय ।

राजनितिले नछोएको र नगाँजेको कुनै ठाउँ नहोला सायद । राजनिति र वेश्यावृति पुरानै पेशा भित्र पर्छ पनि । देशका कलाकार, शिक्षक, डाक्टर, विद्यार्थी, लेखक, पत्रकार राजनितिमा कुनै न कुनै रूपले सम्बन्धित नै हुन्छन् । यदि कसैले म राजनितिमा छैन भन्छ भने त्यो मान्छे सामाजिक छैन भन्ने बुझिन्छ । समाजकै एकपाटो हो राजनिति । राजनितीको सिद्दान्तले निमुखाको उद्दारको नारालाई आफ्नो फाइदाको बाटो बनाएको उदाहरण हाम्रो समाजमा छँदै छ । यस्ता निमुखाको सिद्दान्तलाई पुर्नलेखन गर्न 'प्रगतिशिल र प्रजातान्त्रिक' लेखकहरूको जरुरी छ भन्ने लाग्छ । तर यस्ता लेखकहरूको बहसको विषय र वैचारिक छलफलमा पार्टीको गन्ध ह्वास्सै आउँछ । यस्ता बिनातुकको प्रगतिशिल र प्रजातान्त्रिक बहस हाम्रो लागी रद्दीको बराबर छ ।

भनिएका प्रगतिशिल लेखकका लेखहरूमा पहिल्यै द्दन्द कालमा क्रान्तिकारीले बाँडेका प्रचामा हुने जस्तै शब्द चयन र भनिएका प्रजातान्त्रिक लेखकका लेखहरूमा पहिल्यै चुनावमा बाँड्ने समाजवादी धारणाका शब्द चयन कत्ति रूखो र फुस्रो देखिन्छ । मानौं ति लेखक होइनन् कुनै पार्टीको मुख्य प्रवत्ता भाषण ठोकिरहेछ ।

पार्टीका अवधारणा र झण्डा बोकेर कोही प्रगतिशिल र कोही प्रजातान्त्रिक हुँदैनन् । अझ देशका गहना भनिएका र देशलाई विश्व सामु चिनाउने लेखकहरू स्वयमं आफू आबद्द संगठनको भजन गाउँदै एकअर्कालाई 'बहस' को नाममा आरोप प्रत्यारोप लगाउएको देख्दा  तिनीहरू लेखक कम कुनै पार्टीको कार्यकर्ता जस्तो लाग्यो ।

मार्कसवादी र समाजवादी लेखकहरूले राष्ट्रका मिहिन तहमा रहेका जनतालाई राष्ट्रको मूलधारमा ल्याउने चेष्टा गर्छ, धनी गरीबको खाडल पुर्न खोज्दै साहित्य र वैचारिक बहस काठमाडौंका चारतारे होटलमा गर्दै गाउँको समस्यालाई भाषण र पत्रिकाको सानो कोलममा पेलिदिन्छ अनि आफूलाई प्रगतिशिल प्रजातान्त्रिक लेखक र यसका संगठनको झुझारू यूवा ठान्छ ।

साहित्यको राजनितिकरणले देशको लेखकको साङ्गठनिक संघलाई यस्तरी गाँजेको रै'छ कि मानौं यि संगठनहरू कुनै पार्टीको भातृसंगठन हुन् । यस्ता लेखक र यस्ता संगठनले अब कुनै दिन पार्टीको लागी गाउँ-गाउँ भोट माग्दै हिड्न बेर पनि छैन ।

Thursday, May 5, 2016

आमा र याद ।

आमा तिमीलाई सम्झन कुनै बाहना
अनि कुनै परिस्थिति कुर्नु पर्दैन
तर जब जब यस्ता चिजहरू देख्छु र भेट्छु
तिम्रो याद साविकको भन्दा दोब्बर
अनि तेब्बर भएर आउँछ ।

जब देख्छु, कतै कुनै सानो बालक
आमाको काखमा बसेर संसार देखेको
र रोएको केही हराए जसरी
केही नहराउने आफ्नै आमाको काखबाट ।

जब देख्छु साना र कलिला हात संगै
टाँसिएको, जोडिएको
परिपक्व हात
म सम्झन्छु आमाको न्यायो स्पर्श
जहाँ म फूल, धूप र सिम्रिकको सुवास
अझै नजिकैबाट महसुस गर्न सक्छु
र फेर्न सक्छु सकुनको सास ।

जब देख्छु रूदैं र थाक्दै गरेको बालक
अनि केही सम्झदै फेरी रोएको बालापन
सम्झन्छु आफ्नै रूवाई र पिटाइ
जुन पिटाइ ममताको बापत थियो
त्यही पिटाई र रूवाई सम्झदां
ओठको क्षेत्रफलमा हाँसो फैलन्छ ।

ट्रिगर गर्छन् यस्ता सम्झना र याद
तर साना छैनन् ति प्रेममय याद
जुन यादले मुटुको आयतन बढाउँछ
र बढाउँछ घनत्व धड्कनको ।

यस्ता यादको सङ्कथन र अभिलेख
यादको ढुकुटीमा कति छन् कति
जसभित्र रहेर मेरो मन र मुटुले
तिम्रै यादको छलफल गर्छ ।