Search This Blog

Saturday, July 18, 2015

'घाँसी' एक बिम्ब [कविता]

'साहित्य' सुन्दैमा गह्रौं शब्द,
भन्छन् साहित्य बिजुलीको चम्काइ होइन काँडा बिच फूल्ने फूल हो
जुन फूल ठालूको भयो
साना त सधैं काँडा भए ।

म सोच्छु भानुभक्तलाई,
र मनमा प्रेम जाग्छ
रामायण, बधुशिक्षा उनकै देन
उनी सर्वत्र मानिएका र कहलिएका
तर म उनीसंगै जोडिने
अर्को नाम 'घाँसी' लाई सम्झंन्छु ।

घाँसी न उनले कुनै कविता लेखे न काव्य,
तर भानुभक्त संगै आयो र आउँनेछ
उनको नाम सदैव अजर र अमर भएर ।

आजकल नेपालमा घाँसी कम स्रष्टा बढी भए,
जो शब्द बेचेर आफ्नो एकलौटी पेट पाल्छ
अनि गरीबको पेटको साहित्य लेख्छ ।

दिनभर कोठाको कृत्रिम हावा खाएर,
हावा साहित्य लेख्ने भन्दा
दिनभर चर्को घाममा मितेरी गाँस्ने उनै
घाँसी मनपर्छ जुन घाँसी
आफ्नो पेट पाल्न गरीबको साहरा लिदैंन
र भन्दैन मैले समाजको साहित्य कोरेको छु।

सयौं वर्ष पहिलेका घाँसी,
जसले घाँस काटेर कुवा खनायो
बटुवालाई पानी पिलायो
उसले पाएको सन्तुष्टी कुनै साहित्यले भन्दा
सयौं गुणा बढी दिन्छ भन्दा
निधारमा गाँठो बनाउनेहरू हो होसियार !

साहित्यले मनको प्यास मेट्ला,
क्षणभङ्गुर शरीरलाई चङ्गा झैं उडाउला
तर पानीको प्यास पानीले नै मेट्छ ।

भानुभक्त कै प्रेरणा रहेका घाँसी,
अब तिम्रो पनि शालिक ठडिनुपर्छ
यहाँ शब्द बेचेरै
जीजिविषा धान्नेको प्यास पनि
कतै कुनै घाँसीले नै मेटेको हुनुपर्छ ।

किल्ष्टतापूर्ण साहित्यका ठेली लेखेर,
हाम्रो समाजको दु:ख देखेर
एकलोटी साहित्यको मेवा टोक्नेहरूले
अब आफ्नै लेखनी मार्फत
नभुल्ने साहित्य-सेवा गर्नुपर्छ ।

No comments:

Post a Comment