Search This Blog

Thursday, July 30, 2015

अमूल्य मनहरू ।

चाहेर पनि बिर्सन नसक्ने क्षणहरू नै जीवनको अमूल्य धन हुन् । फेरी धनको कुरा गर्दा देवकोटा बाजेको याद आउँछ 'हातका मैला सुनाका थैला के गर्नु धनले, साग र सिस्नु खाएको वेश आन्नदी मनले' । अनि धनलाई स्पाम फोल्डरमा राखेर मनलाई नै लिएर हिडें ।
----------------------------------

भन्छन् मनको कुरा बुझ्न सकिन्न तर म भन्छु मन गरेर मन लगाएर मनलाई बुझ्न खोज्ने हो भने मनलाई बुझ्न कुनै कठिन छैन किनकी मैले धेरै मन बुझेको छु र आज तिनै अमूल्य मनहरूको मन केलाउँदै छु ।
-------------------------------

जीवनमा धेरै दु:ख भोगियो र अझै भोग्न तयार मैले सदैव आफ्नो मनलाई बनाउँछु किनकी मन बलियो बनाए दु:ख ले क्लोज रिलेशन राख्दैनन् । अनि दु:ख लाइ शत्रु बनाउन मेरो कमजोर मात्र मन कहाँ मान्छ र अनि जोड्छु मैले अरू मेरा अमूल्य मनहरू जो मेरो मनको कुरा सायद बुझ्छन् तर मेरो यो भ्रम पनि हुन सक्छ किनकी मैले आफ्नै मन नबुझेको जुग भयो । काठमाडौं आउनु अघिका अमूल्य मनलाइ मैले काठमाडौं आएर भुलेको र माया मारेको आरोप सदैव खपेको छु तर मैले काठमाडौं बाहिरका अमूल्य मनहरूलाई कहाँ त्यति सजिलै भुल्छु र !
---------------------------------

काठमाडौंको मन मैले कहिल्यै बुझ्न सकिनँ । सायद म भित्रको कमजोर मनले त्यो मनलाइ चिन्न सकेन कि ? किनकी काठमाडौंमा धेरै समय म अमूल्य मनहरु बिना एक्लो भएको थिएँ । सुरुवाती चरणमा काठमाडौं मलाई खासै रुचिकर लागेन । काठमाडौंलाइ मेरो मनले मनमनै स्विकार गरेन अनि फेरी हिडें म अमूल्य मनहरूको खोजीमा एक यायावर र फ्लानर बन्दै ।
---------------------------------

अमूल्य मनको मूल्य अमूल्य नै छ । ति मनहरू बिना म अपुरो र अपूर्ण छु । किनकी म कमजोर मन भएको मान्छे । कहिलेकाहीं भन्न नचाहेका, गर्न नखोजेका र अन्य 'न' जन्य चिजहरू जीवनमा आपसेआप सृजना हुन्छन् । ति सृजित कुराहरूको सम्पूर्ण दोष मेरै खप्परमा बजारिए पनि मलाइ खासै फरक पर्दैन तर ती कुराहरू खप्परको माध्यबाट मनमा पुग्दा ती 'न' जन्य कुराहरूले मनको 'न' लाइ खाइदिन्छ र 'म' मात्र बाँकी रहन्छ । त्यो 'म' एक्लो छ । 'न' बिनाको 'म' एक्लो छ । 'म' र 'न' मिल्दा नै ति नचाहेका र नखोजेका 'न' जन्य शब्द निर्माण भएका हुन् । 'न' र 'म' को आफ्नो ठाउँमा छुट्टै महत्व होला तर 'म' र 'न' छुट्टिदा ती सृजित कुराहरूको बास खै कहाँ हुन्छ सायद यो 'म' र 'न' मिलि बनेको 'मन' लाइ पनि ज्ञात नहोला ।
--------------------------------

अमूल्य मनहरूको परिचय कुनै सस्तो अखबारमा छापिदैंन जुन म दिनहुँ पढ्छु किनकी अमूल्य मन सस्तो पत्रिका समाहित हुँदैन । अमूल्य मनहरू केही मेरा मुहार पुस्तिकामा छन् अनि केही ट्वीटर र बाँकी कलेजमा ।
-----------------------------------

अमूल्य मनहरूलाइ म कुनै विशेषणले व्याख्या गर्न चाहन्न किनकी मेरा ति फगत विशेषण ति अमूल्य मनहरू प्रतिको दुर्व्यहार हुनेछ । किर्तिपुरका गल्लीमा हल्ला गर्दै हाँसेको आवाज गल्लीमा बस्ने किराफट्याङ्ग्रा, झ्याउँकिरीलाइ मन परेन होला, वरिपरिका बुट्यान र रूखलाइ पनि मनपरेन होला तर अमूल्य मनहरूको आवाम कस्ले रोक्न सक्छ र ??
--------------------------------

दश रूपैंयाको चिया पिएर दशौं करोडको गफ गर्ने, किताबका पानामा डुब्ने, कागजका पानामा जोक लेखेर सेयर गर्ने, फिल्म र नाटकमा कम्पनी दिने, साहित्यिक विचार र विश्लेषण गर्ने, पुस्तक सेयर गर्ने, नोट बाड्ने अनि थप महत्वपूर्ण तर छुटाइएका विशेषता लिएर हिड्नेहरूलाइ मैले सदैव फिल्मका दृश्य जस्तो सम्झन्छु जुन फिल्मले मेरो मनमा ब्लकबस्टर कायम गर्छ अनि पाउँछ 'अमूल्य मन' को ठूलो अवार्ड; जुन अवार्ड मेरो वैयक्तिक धन हो; त्यसैले त म धनी छु नि;)))

No comments:

Post a Comment