Search This Blog

Monday, July 20, 2015

साहित्यिक इगो !

साहित्य यस्तो एउटा फूलबारी हो जहाँ हरेक प्रकारका फूलहरू फूल्छन्; केही राता, केही हरिया, केहि पहेंला अनि कसैको पात ठूलो, कसैको लाम्चो, कसैको खिरिलो । फूलबारीमा अनेक फूल फुल्नुपर्छ भन्ने कुरा हामी सबैलाई मान्य छ त्यसैगरी ति फूलले छर्ने सुवासले हामी सबैलाई आकर्षण गर्छ तर व्यक्ति पिच्छे त्यही फूललाई ग्रहण गर्ने प्रक्रियाको पनि आत्मसात हामी सबैले गर्नैपर्छ ।

जसरी-जसरी थरीथरीका फूलले फूलबारी मनमोहक बनाउँछ त्यसरी नै हाम्रो नेपाली साहित्यको फूलबारी यस्तै फूलहरूले आकर्षित भएको कुरामा कसैको दुई मत नहोला तर सुवास छर्ने फूल बिच देखिएको वैमनश्यताले कतै नेपाली साहित्यको आकाश यिनै दुर्गन्धित वास्नाले प्रदुषित पार्ने त होइन भन्ने चिन्ता आजका नव लेखक, साहित्यिक जमात, विद्यार्थीमा पर्न थालेको मैले महसुस गरेको छु । एक साहित्यको विद्यार्थीको हैसियत र सामाजिक संजालमा सक्रिय रहेको कारणले भनौं म विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुने र साहित्यका धुरन्धरको नजिक हुन सौभाग्य पाएको छु। विभिन्न सभा, समारोहमा म स्वयमं सहभागी हुँदा र त्यसपछिको समिक्षा ट्वीटर, फेसबुक, पत्रपत्रिकाको आवाम सुन्दा नेपाली साहित्यको जूनमा इगोको ग्रहण लागेको प्रष्टै देखिन्छ । एक पाठकको हिसाबले हेर्दा आजकलका साहित्वो लेखनका ठेकेदारहरूले केही हदसम्म आफ्ना इगोलाई कतै गाँठो पारेर राख्दै बजारमा आएका साहित्यिक नुतनलाई खोक्रो र नाटकीय व्याख्या गरेको छर्लङ्ग हुन्छ । नव पाठकले यस्ता खोक्रो विश्लेषण पढेर पुस्तक किन्छन् अनि पाउँछन् मात्र दु:ख र समयको बर्बादी । अब प्रश्न उठ्न सक्छ; साहित्यिक इगो बोक्ने भरियाहरूले आखिर किन यस्तो गर्छन् ?? उत्तर सबैलाई थाहा छ-- यो मात्र स्पेश हो, पछि आफ्नो कृतिको अर्को कृत्रिम व्याख्याको  को लागि स्पेश । यस्ता खोक्रा व्याख्या र विश्लेषणले नेपाली साहित्वो लेखनको भविष्य हामीले कल्पना गरेभन्दा बक्तर हुनेछ ।

यि त भए तिनीहरूका आन्तरिक कुरा जुन सबै पाठकले बुझेका छन्  यही विषयमा सम्बन्धित बजारमा पैसामा किन्न पाइने समिक्षक र विश्लेषकको कुरा पछि अर्कै लेखमा गरौंला ।
साहित्यिक इगोको उदाहरण प्राय: सबै सभा समारोहमा प्रकष्टै देख्न र घुमाउरो पारामा सुन्न पाइन्छ । इगो र इख दुई फरक कुरा हुन् । आजकल इख भन्ने कुरा नेपाली साहित्यिक बजारबाट यसरी हरायो कि मानौं त्यो कुनै अपराधी हो । इगो मिश्रित साहित्यिक नाटक मन्चन हरेक दिन कुनै न कुनै बेलामा कुनै न कुनै माध्यमबाट भएको हामीले देखिरहेकै छौं फेरी नेपाली साहित्य बजारका खुद्रा व्यापारी अर्थात पब्लिकेशन हाउसको कुरा कोट्याउने हो भने अर्को महाकाव्य तयार नहोला भन्न सकिन्न ।

कवि कथाकारलाई टेर्दैन, उपन्यासकार कविलाई सानो ठान्छ, कथाकार निबन्धकारको लेखनलाई रद्दी सम्झन्छ तर बाहिरी रूपमा अनुहारमा कृत्रिम विश्लेण मुखी प्रतिक्रिया देखाउँछ अनि मनमा आगोको ज्वाला दन्काउँछ जुन ज्वाला कुनै न कुनै रूपमा सामाजिक संजालमा धूँवा बनेर देखिन्छ जुन धूँवामा नेपालीमा साहित्यिक आकाश कालो र दुर्गन्धित देखिन्छ । यस्ता थुप्रै दृष्टान्त हामी सबैले देखेकै छौं; जुन दृष्टान्त नेपाली साहित्यको कलङ्क हो भन्न म कति पनि पिर मान्दिनँ । एक असल पाठकको हैसियतले र साहित्यलाई प्रेम गर्ने हिसाबले भन्ने हो भने साहित्यमा देखा परेको इगो रुपि कब्जियत मलाइ कत्ति पनि मनपरेको छैन ।

नव आगन्तुक लेखक, पाठक र साहित्यिक समाज यस्ता नदेखिने इगोको भूमरीमा नपर्लान् भनेर म किटान गर्दिनँ । नेपाली साहित्यका व्यापारीहरू इगो लुकाएर पाठक झुक्काएर मात्र कागजको व्यापार गर्दैछन् । प्राय: लेखकलाई पाठकलाई ठगेको कुरा प्रष्टै थाहा हुन्छ तर बजारमा अरू समकक्षि किन त्यो इगो यस्तो बेला उजागर गर्दैनन् ??

कतै कुनै कविको कविता मन्चन हुँदा अर्को कविको अनहारमा देखिएको बादल, कुनै उपन्यासकारको उपन्यास बजारमा आउँदा अर्को उपन्यारको कृत्रिम विश्लेण जब सम्म हटेर जाँदैन तबसम्म नेपाली साहित्यको आकाश फराकिलो हुँदैन ।

असल पाठक र असल समिक्षकले यस्ता कृत्रिम विश्लेण नबुझेका होइनन् तर 'असल' चिजको नेपाली बजारमा भाउ शुन्य छ । जसरी नेपाली राजनिती इगोको रोगले ग्रसित छ त्यसैगरी नेपाली साहित्यिक समाज पनि इगोले पूर्ण रूपमा ग्रसित छ ।

हामी सानोमा जुन सरले चक्लेट दिनुभयो त्यही शिक्षकलाई असल शिक्षक मान्थ्यौ अनि त्यही शिक्षकको गुणगान गाउँथ्यौ, अहिले नेपाली साहित्यको बजारमा यस्तै शिक्षक छन् जो चक्लेट बाँडेर असल हुन खोज्छन् तर वास्तवमा ति ठग शिक्षक हुन् भन्ने कुरामा अर्को मत नहोला ।

सायद मनको कुरा हातको आद्रताबाट थाहा पाउने भए अहिले सम्म नेपाली साहित्यको बजारमा अर्को महाभारत पक्कै हुने थियो । आजकल साहित्यिक व्यक्तिको इगो पोख्ने ठाउँ ट्वीटर, चिया पसल र ब्लग भएका छन् जहाँ उनीहरू घुमाउरो पारामा आफ्नो कुण्ठा पोख्छन् अनि लामो सास फेर्छन् अनि भन्छन् यो मेरो भनाइ अरू संग नै सम्बन्धित छ ।

नेपाली साहित्यको वृद्दि र विकासमा 'सोमरस' को ठूलै महत्व छ । सोमरस पान नगर्ने साहित्यिक जमात आजकल कमै होलान् । जब सोमरस भित्र जान्छ अनि इगो बाहिर ज्वाला बनेर बाहिर निस्कन्छ जस्ले गर्दा फेसबुकका भित्ता र ट्वीटरको समय लाइन डढ्छ अनि खरानी हुन्छ तिनीहरूका खोक्रा विश्लेण जो पहिले बजारमा 'ङ' वर्गमा पर्ने पत्रिका र मिडियामा आएको हुन्छ ।

अनि हामी असल पाठक त्यो खरानी लगेर फेरी त्यही साहित्यको फूलबारी हाल्छौं अनि इगो रूपी किटनाषक किरालाई पूर्ण रूपमा निर्मूल पार्न खोज्छौं र खोजिरहन्छौं ।

No comments:

Post a Comment