Search This Blog

Tuesday, July 28, 2015

नागरिकता हराएको मान्छे ।

घरको आँगन छोडेर हिडेदेखि मैले बल्ल धेरै चिजको महत्व बुझेको छु र बुझ्दै छु । सायद  हराएका चिजको महत्व स्वत: बढ्छ भन्छन् आजकल मेरा अनेक सजिव र निर्जिव चिज हराएका छन्-- सजिव मन र निर्जिव सपना । निर्जिव सपना जस्को कुनै सेन्स छैन मात्र त्यो देखिन्छ ।

--------------------------------------------------

घरछँदा बाहिरको हावा समेत खान नपाएर ऐंठनमा बसेको मेरो नागरिकताले आजकल म संगै सहर घुम्न थालेको छ किनकी शहरमा मान्छे होइन यस्ता परिचयलाइ ख्याल गरिन्छ तर हिजो मात्रै मेरो नागरिकता हरायो । मैले सधैं मेरो झोलाको बगलमा राख्ने नागरिकता हरायो कता गयो पत्तो भएन । नागरिकता हराएको झोकमा मैले मेरो होस हराएँ अनि सोच्न थाले नानाथरी मूर्खतापूर्ण बकवास ।

--------------------------------------------------

नागरिकता हराएको अघिल्लो दिन मैले कोठामा नागरिकता सम्बन्धी मुद्दाको समाचार पढेको थिएँ । आमा वा बावु र आमा र बावुको नाममा नागरिकता दिने वा नदिने भन्ने विवादमा समाचार अहिलेको जल्दोबल्दो इस्सु थियो । कतै मेरो नागरिकता त्यही मुद्दाको विषय खोज्न त हिडेंन ??

----------------------------------------------------

नागरिकता हराएको सुरमा मैले मेरो खल्तीको ब्यालेन्स सकिएको कुरा ब्यालेन्स कम भएको मोबाइलबाट पिता जी लाइ सम्झाएँ अनि नागरिकता हराएको कुरा सुनाएँ तर मेरो हराएको नागरिकतामा परिवारबाट कुनै सहानुभूति आएन तर तेरो हुस्सु कता हरायो भनेर मेरो हराउँदै नहराएको होसको कुरालाई पो बढि जोड दिए । त्यसको केही दिन पछि नेपाल सरकारको छाप भएको कागजको खोस्टो घरबाट आयो अनि पैसा झिक्न जाँदा भित्रबाट 'तपाइको नागरिकता दिनुस्' भन्दा झसङ्गै भए अनि नागरिकता हराएको कुरा बल्ल सम्झें ।

--------------------------------------------

धन्न नागरिकता गाडीमा माग्दैन, तरकारी पसलमा माग्दैन, होटलमा माग्दैन नत्र यती बेला सम्म नागरिकताको महत्व अझ बढि थाहा पाउने थिएँ भन्ने लाग्छ । आज नागरिकता हराएको तेह्रौं दिन हो । अब नागरिकताको माया मारेर मैले नागरिकताको सतिगती गर्ने सोच बनाए तर सकिनँ किनकी नागरिकतामा मेरो सोह्र बर्षे जवानीको फोटो थियो जुन बेलामा मलाइ नागरिकताको भन्दा फोटो खिच्नको सोख थियो तर आज बल्ल नागरिकताको महत्व बुझ्दै छु ।

-------------------------------------------

नागरिकताको माया मारेको केही दिनपछि कुनै संस्थामा मेरो योग्यताले पुग्ने जागिर खुल्यो, निवेदन हालें र अनि सिभिमा 'नेपाली सिटिजन' लेखें तर नेपाली सिटिजनबाट मेरो अस्तित्व गुमेको ठ्याक्कै १९ दिन चल्दै थियो । नागरिकता पेश गर्न नसकेर मेरो पाउन नसकेको जागिर फुत्क्यो अनि फुत्केको माछा साह्रै ठूलो लाग्ने रै'छ ।

----------------------------------------------

त्यसदिन बेलुकी नागरिकता खोजें, केही छिन घोत्लिएँ तर मेरो नागरिकताको अस्तित्व कता छ म आफैं नागरिकताको मालिकलाई पत्तै भएन अनि हार मानेर सुतें ।

-----------------------------------------------


त्यसै रात सपनामा पनि नागरिकता आएर रुदैं बसेको देखेर म झस्सङ्ग भएछु अनि नागरिकतालाई सम्झेर नझारिएको आँशु चुहाएँ । त्यसरात नागरिकताको यादले साह्रै पिरल्यो तर नागरिकता म पिरोल्लिएँ भनेर फर्केर आएन; निष्ठुर नागरिकता ।

-----------------------------------------------

नागरिकता हराएको आज एकमहिना भयो अनि असार महिना हराएर साउन महिना लाग्यो । अर्को वर्ष असार फेरी आउने पक्का थियो तर मेरो हराएको नागरिकता नआउने पक्का पक्की थियो । नागरिकता हराएपनि कोठाका बेडका तन्नाबाट, सिरकको खोलबाट मैला कहिल्यै हराएन अनि त्यहि मैला हराउन नागरिकता हराएको एक महिना पुगेको उपलक्ष्यमा सरसफाइ अभियान थालें ।

-------------------------------------------------

अचानक केही परिचित चिजमा मेरो आँखा झसङ्ग गयो तर यही हो भनेर ठम्याउन सकिनँ अनि बेडका तन्नालाई गाउँमा लहरो ताने झैं ताने अनि तन्ना तलको डस्ना उठाएँ ।

---------------------------------------------------

अनि देखें मेरो कुच्चिएको अनुहार, मेरो बिग्रेको नाक, मेरो बाङ्गिएको कान; मेरो नागरिकताको फोटोमा । डस्ना मुनी नागरिकता बिर्सेर मैले नराम्रो संग आफैलाई डसेछु । अचानक नागरिकतालाइ देखेर मेरो मनको अन्तस्करणबाट प्रेमको प्रलय गयो अनि अँगाल्न पुगें आफ्नै नागरिकतलाई । सुम्सुमाएँ, छातीमा टाँसे, चुम्बन गरेर नाँचे अनि प्रेम रूपी स्पर्शले बाङ्गिएको अनुहार मिलाए अनि मेरो कहिले नहाँसेको नागरिकताको फोटो हाँस्यो ।

No comments:

Post a Comment