Search This Blog

Friday, July 24, 2015

अनिँदो मन ।

सुत्न सक्दिनँ । दाँयाँ, बाँयाँ छट्पटिन्छ मन । चिन्ता र दु:खले गाँजेको पनि छैन मलाई । न कुनै राजनैतिक पार्टीको झण्डा बोकेर देश हाँक्ने चिन्ता छ म भित्र । न प्रेमको कलिलो मुना मनमा लालुपाते झैं अग्लिदै छ तर पनि मनमा किन एकतमासको चिन्ता बढ्छ आफैंले मनमनै प्रश्न गर्दा पनि मनको आवाज कुनै कन्सर्टमा बजाइएको ठूलो आवाज जस्तै लाग्छ जुन आवाज मैले सहन गर्न सक्दिन अनि थुन्छु आफ्नै कान ।
------------------------------------

अनि सम्झन्छु दिनभरका नानाभाती कार्यकलाप जस्ले गर्दा मेरो निद्रा मस्तिष्कको फोल्डरबाट मैले थाहै नपाइ डिलिट भएको ठोस कारण । मैले आज बिहानै बन्दको धुमिल आवाम सुनें, सधैं सुनिने यातायातको आवाज आज मौन थियो, सधैं स्कुल जाने नानी आज आँगनमै एउटा खुट्टा उचालेर नाच्दै थिइँ अनि बिहानको पत्रिकामा नयन दुख्ने समाचार थिए जुन मैले निमेषभर हेर्नै सकिनँ र मिल्काए कोठाको कुनै कुनातिर फेरी नदेखिने गरी । आज कुनै-कतै जाने ठोस योजना नभए पनि मेरो प्लान चौपट भएको भन्दै म एक्लै बरबराएँ अनि किताबको यार्कबाट दुइ पुस्तक निकाले अनि तिनका पाना कुनै गह्रुङ्गो चट्टान पल्टाए झैं पल्टाएँ । चट्टानको भार मैले खप्नै सकिनँ अनि हेरें खुला आकाशलाई जहाँ बादल उडिरहेथ्यो स्वतन्त्र कुनै छेकबार बिना तर तल पृथ्वीमा गुड्न सकेका थिएनन् यातायात किनकी बन्दको पर्व चलेको थियो । जुन पर्व कसैको रूचिको विषय होइन यो त बाध्यताको अनुसुचि हो जुन मान्न म किमार्थ तयार छैन तर...
------------------------------------

घडीमा दिउँसोको साढे एक बज्यो तर देशमा बाह्र बजेको थियो र यसरी बाह्र बज्दै जानेछ जबसम्म देशका बाह्रमासेहरूले बन्दको उत्सव मनाउने छन् ।

'बन्दकर्ताले स्कुल बस जलाए'--

समाचारवाचक समाचार शान संग भनेर रेडियोको तलब पकाउँदै थियो तर मेरो भान्सामा खाना नपकाकेको सायद तिन दिन भएको थियो तर मेरो भोक खडेरीमा सुक्ने खहरे बनेको थियो ।
------------------------------------

दिउँसो तीन बजे मैले तीन छक पर्ने कुराको सामाना गर्न पर्यो जुन कुरा तीन छाक राम्रो संग खान नपाउने हामी जस्ता भुइँफुट्टा मानिस संग सम्बन्धित छ जुनकुरा दिन दुइ गुणा र रात चौगुणा बढ्छ जस्को नाम 'बजार भाउ' हो । एक किलो प्याज लिन पसल पुगेको म दुइ किलो आँशु निकालेर कोठामा फर्के अनि हेरें आफ्नो कोठामा प्याज बिनाको तरकारीको टोकरी । जुन टोकरीमा गाउँबाट आएको सस्तो गुन्द्रुक छ तर त्यो पनि प्याज बिना यत्ति रूष्ठ बन्छ कि मानौं प्याज त्यसको मिल्ने साथी हो अनि म त्यसको मालिक दुश्मन बराबर ।
------------------------------------

तिनले दुइ फड्को मारेर पाँचमा पुग्यो । त्यतिन्जेल मैले कोठाका अशोभनीय चिज हटाएँ । ति अशोभनिय चिज डस्बिनमा झन् अशोभनिय देखियो । तर म भित्रको अशोभनिय चिज पनि त्यसैगरी हटाउन मिलेन किनकी मनको अशोभनीय चिज यति धेरै छ कि सायद त्यो डस्बिनमा पक्कै अटाउँने छैन अनि थाति राखें आफ्नो कुरा ।
------------------------------------

रातको सात बजे घरबाट फोन आउँदा सधैं झैं मैले झुटो बोलें र भनें खाना खादैं छु । मैले झुटो बोल्दा मौन रूपमा भित्तामा रहेका भगवानले सायद मलाइ ठूलै श्राप दिए होलान् तर हु केयर्स ??
------------------------------------

घडीमा आठ बज्दा देशका दश थरीका रेडियोले दिनभरको समाचार पन्ध्र तरिकाले भन्न थाले अनि थप टेवा पुग्यो मेरो निद्रा डिलिट गर्ने भाइरसको । समाचार वाचक नथाकी समाचार भन्दै थियो तर ति समाचारहरू सुनेर म साह्रै थाकेको थिएँ तर निद्रा परेको थिएँन । पानी पिएँ, सिरानी मिलाए, ओछ्यान टकटकाएँ, बत्ती निभाएँ तर निद्रा परेन । अनि सोचें मैले बत्ती निभाएर गाउँलेलाई झुक्काएको छु, किनकी तिनीहरू सोच्दा हुन् त्यो निदायो, सुत्यो तर म कयौं रात बत्ती निभाएर बन्द आँखामा अनिँदो बसेको छु...

No comments:

Post a Comment